शहीद नगरपालिकाको बलाबाखरमा रक्तदान कार्यक्रम सम्पन्न
मंसिर २१ गते धनुषा । शहीद नगरपालिका–१, बलाबाखर बगवनस्थित ज्ञान वरदान इंग्लिश बोर्डिङ स्कुलको प्राङ्गणमा शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
“रक्तदान जीवनदान, महादान” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा स्थानीय युवाको उत्साहजनक सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।
“टोल–टोलमा रक्तदान, एक घर–एक रक्तदाता हाम्रो अभियान” भन्ने उद्देश्य लिएर हामि युवा (Youth for Change) र ज्ञान वरदान इ.बी. स्कुलको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो। रक्तदानलाई प्रभावकारी बनाउँदै समुदायमा रक्तदानसम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका संस्थापक प्रिन्सिपल झागरु यादवले विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता गतिविधि निरन्तर रूपमा गर्दै आएको उल्लेख गर्दै भवीष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, हामि युवा समूहले पनि आगामी दिनहरूमा सामाजिक सेवा तथा जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने जनाएको छ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल गणेश यादव, सामाजिक अभियन्ता धीरेन्द्र शाह, हंसपुर नगरपालिकाका ल्याब प्रमुख शंकर महतो, नैना अस्पतालका ल्याब सञ्चालक सरोज यादव तथा स्थानीय युवाहरूको सक्रिय उपस्थिति थियो।



