ढल्केबर (धनुषा):
धनुषाको मिथिला नगरपालिका र सिन्धुली जिल्लालाई जोड्ने बहुप्रतिक्षित रानी बास सडक खण्ड निर्माण हुने भएको छ। करिब १५ किलोमिटर लम्बाइ रहेको यस महत्त्वपूर्ण सडक खण्डका लागि प्रदेश सरकारले रु. २ करोड ५० लाख बराबरको रकम विनियोजन गरेको छ।
वर्षौंदेखि बन्न नसकेको यस सडकको निर्माणका लागि रकम छुट्याइएपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूका अनुसार यो सडकले ढल्केबर क्षेत्रको आर्थिक मजबुतीमा ठूलो राहत दिन सक्ने अपेक्षा गरिएको छ।
पुनर्जीवित हुँदै पुरानो मार्ग
स्थानीय बासिन्दाका अनुसार, विगतमा यो मार्ग महेन्द्रनगरस्थित सखुवा बजारका लागि कच्ची बाटो हुँदै प्रयोग गरिन्थ्यो। तर, पछि यो मार्ग बन्द भएको थियो। रकम विनियोजन भएसँगै अब यो पुरानो र महत्त्वपूर्ण बाटो पुनर्जीवित हुने भएको छ।
नेतृत्वको पहल
यो सडक योजना कांग्रेस सह-महामन्त्री महेन्द्र यादव र मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोको संयुक्त प्रयासमा पारिएको नगरप्रमुख महतोले दाबी गरेका छन्।
सडक निर्माण भएपछि धनुषा र सिन्धुलीबीचको आवागमन सहज हुनुका साथै यस क्षेत्रको कृषि उपज र व्यापारिक गतिविधिमा समेत वृद्धि हुने विश्वास गरिएको छ।



