Warning: Trying to access array offset on false in /home/enewsofnation/public_html/wp-content/themes/Enews Of Nation/functions.php on line 266

संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी : प्रभु साह

  |

काठमाडौं : एमालेले नेता प्रभु साहले संविधान पुनर्लेखन हुनुपर्ने आवश्यकता औंल्याएका छन्। सातौं संविधान दिवसका अवसरमा आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्तमान संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी रहेको बताएका हुन्।

‘मुलुकमा राजनीतिक संकट गहिरिँदै गएको सन्दर्भमा वर्तमान संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी छ,’ उनले लेखेका छन्, ‘दुनियाँमा कहीँ नभएको गलत प्रावधानहरु नेपालको संविधानमा षडयन्त्रपूर्ण ढंगबाट जबरजस्ती समाविष्ट गराएकै कारण आजको जटिल अवस्था सृजना भएको हो।’

नेपाल जस्तो सानो मुलुकमा ७ सय ६१ वटा सरकार बनाउने, संघीय मुलुकमा अनावश्यक तीन तह निर्माण गर्ने, शासक जातिलाई आरक्षण दिने, अनावश्यक दर्जनौं संवैधानिक आयोग बनाउने, दोहोरो नागरिकतासम्बधी गलत व्यवस्था गर्ने, पुरानै न्याय प्रणाली र कर्मचारीतन्त्र राख्ने, सन्तुलन बिनाको शक्ति पृथकीकरण, पक्षपातपूर्ण ढंगले राजस्व तथा शक्तिको बाँडफाँड गर्ने, दलाल जन्माउने निर्वाचन प्रणाली, अस्थिरता र विभेद बढाउने शासन प्रणाली जस्ता अस्वाभाविक गलत प्रावधानहरुले गर्दा नै आज देश अस्तव्यस्त एवं अन्योलग्रस्त भएको उनको भनाइ छ।

संविधानमा रहेका यी गम्भीर त्रुटीहरु नसच्याएसम्म वास्तविक अर्थमा संविधान दिवसको औचित्य नरहने दाबी उनले गरेका छन्। ‘संविधान कार्यान्वयनको सात वर्षको अनुभवका आधारमा लोकतन्त्र, राष्ट्रियता, स्थायित्व एवं समृद्धिको आमजनताको चाहना मुख्यतः जनयुद्ध र जनआन्दोलनको मागअनुरूप संविधानको पुनर्लेखन गरी देशलाई सही दिशा निर्देश गरौं,’ उनले भनेका छन्।