अमेरिकी राजदूताबासले प्रदान गर्ने उद्यमी तालिममा मिथिला नगरपालिकाकी उद्यमी आशिका गिरी

  |

मिथिला नगरपालिकाकी महिला उद्यमी आशिका कुमारी गिरीले काठमाडौँमा सम्पन्न ‘U.S. Embassy Entrepreneurship Skill-Building Program: Capstone Accelerator’ सफलतापूर्वक सम्पन्न गरेकी छन्। अमेरिकी दूतावास नेपाल, इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (IDI), आध्यान्त एडभाइजरी र एमक्याम (AmCham) को संयुक्त आयोजनामा साउन २०–२२ सम्म काठमाडौँमा उक्त ३ दिने विशेष कार्यक्रम आयोजना गरिएको थियो।

अप्ठ्यारो परिस्थिति चिर्दै उद्यमशीलताको यात्रा

घरेलु र सामाजिक परिवेशका कारण महिलाहरूलाई घरबाहिर निस्किएर काम गर्न सहज नभएको अवस्थामा पनि उद्यमी गिरीले दृढ इच्छाशक्ति र निरन्तरको प्रयासबाट आफ्नो पहिचान बनाएकी छन्। उनले धनुषाको मिथिला नगरपालिका–९, ढल्केवरमा ‘आशुतोष बहुउद्देश्यीय तथा घरेलु उद्योग’ सञ्चालन गर्दै आएकी छन्।

परम्परागत मिथिला स्वाद र स्थानीय महिलाहरूलाई रोजगारी

आशुतोष घरेलु उद्योगले रैथाने मिथिला परिकार, अचार, पापड, चिप्स, कुरकुरे लगायतका विभिन्न घरेलु तथा प्रशोधित खाद्य सामग्रीहरू उत्पादन गर्दै आएको छ। यो उद्योग प्रख्यात सेफ सन्तोष शाहको विश्वप्रसिद्ध ‘मिथिला थाली’ रेस्टुरेन्टको मुख्य आपूर्तिकर्ता (Supplier) समेत रहेको छ।

उद्योगले खाद्य उत्पादनका साथै स्थानीय महिलाहरूलाई सीपमूलक तालिम दिएर आयआर्जनको माध्यम बनाउँदै आएको छ। “महिलाहरूलाई आत्मनिर्भर बनाउन र मिथिलाको मौलिक स्वादलाई प्रवर्द्धन गर्न यो प्रयास थालिएको हो,” उद्यमी गिरीले बताइन्।

आधुनिक प्रविधि मैत्री उत्पादन

हाल यस उद्योगले  प्रविधिमा आधारित व्यावसायिक अभ्यास अपनाउँदै आफ्ना उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने र किसानहरूसँग प्रत्यक्ष सहकार्य बढाउने लक्ष्य राखेको छ।

अमेरिकी दूतावासको आयोजनामा सम्पन्न यस तालिम र सम्मानले आफूलाई थप हौसला मिलेको र यसले धनुषाका अन्य महिलाहरूलाई पनि उद्यमी बन्न र आत्मनिर्भरतातर्फ अघि बढ्न ठूलो प्रेरणा दिने विश्वास गिरीले व्यक्त गरेकी छन्।