अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार : उपेन्द्र यादव

  |

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चाकर्मीसंग कुरा गर्दै यादवले दलसम्बन्धी अध्यादेश खारेज हुने बित्तिकै मन्त्रिपरिषद विस्तार हुने र सरकारले पूर्णता पाउने बताए ।

उनले दल विभाजन सम्बन्धी अध्यादेशले विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने धारणा राखे ।

‘सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ । त्यो भइसकेको छैन,’ यादवले भने, ‘दलसम्बन्धी अध्यादेश खारेज हुन्छ । र त्यो खारेज हुने बित्तिकै मन्त्रिपरिषद्को बिस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ ।’

यादवका अनुसार मन्त्रालय बाँडफाँडमा पनि अझै सहमति जुटेको छैन । प्रधानमन्त्री शेरबहादुर देउबाले शपथ लिएको ६९ दिन भइसक्दासम्म पनि सरकारले पूर्णता पाएको छैन । प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी ६ जनाले मात्रै मुलुक चलाइरहेका छन् । file Photo