रेलको वेरेन्टी सकियो, तर अझै चलेन रेल !

  |

जनकपुरधाम : भारतको जयनगर देखि जनकपुरधामसम्म संचालनका लागि नेपाल सरकारले खरिद गरेको दुइ सेट रेलको वेरेन्टी समाप्त भएको छ । इनर्वा स्टेस्नमा थन्काएर राखिएको रेल संचालन हुन नपाउदै वेरेन्टी समाप्त भएको हो ।

भारतको कोंकण रेलवे कार्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एकवर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।

भारतीय रेल निर्माण कम्पनी कोंकण रेलवे कर्पोरसनले २०७७ असोज २ गते नेपालले खरिद गरेको दुईसेट रेल जनकपुर ल्याएर नेपाल रेलवे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो दुईसेट रेल कानुन तथा जनशक्तिको अभावमा सोहि दिन पूर्वी धनुषाको इनरर्वा रेल्वे स्टेशनमा त्रिपालले छोरोर थन्काएको थियो ।

दुइसेट रेलवको इन्जिन र बोगीको एकवर्षे वारेन्टी गएको आइतबार सकिएको महाप्रवन्धक झाले बताए । वारेन्टी अवधिमा इन्जन वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आए निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने हुन्छ ।

परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नु पर्ने , मोबिल फेर्नु पर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनु पर्छ । तर, दुबै रेल थन्काएर राखिएको दिनदेखि जस्ताको त्यस्तै छ । छोपेर राखिएको दुबै रेल त्रिपाल च्यातेर उघ्रिएर पार्टपुर्जामा खिया लाग्न थालेको स्थानीयहरु बताउँछन् ।

कानुन अभावमा रेल संचालन गर्न नसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेल संचालन सम्बन्धी अध्यादेश निष्कृया भइसकेको छ ।

अब सोहि विधेयकलाई संसदबाट अनुमोदन बनाइ ऐन बनाउनु पर्ने हुन्छ वा अध्यादेशको रुपमा सक्रिय गरे मात्र रेल संचालन सम्बन्धी कार्य अघि बढ्ने कम्पनीले जनाएको छ ।