टेलिकमको एउटा सेवा प्रदायकको नेटवर्कका ग्राहकले अर्को नेटवर्कका ग्राहकलाई कल गर्दा लाग्ने शुल्कमा परिमार्जन

  |

कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागु हुने अन्तरआबद्धता शुल्क ‘अन्तरआबद्धता निर्देशिका २०७६’ अनुसार ​लागु भएको छ। नेपाल टेलिकमले मंगलबारदेखि उक्त निर्देशिका लागु गरेको हो।

टेलिकमका अनुसार अब एउटा सेवा प्रदायकको नेटवर्कका ग्राहकले अर्को नेटवर्कका ग्राहकलाई कल गर्दा लाग्ने शुल्कमा परिमार्जन आएको छ। जसअनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा प्रति मिनेट एक रुपैयाँ १० पैसा लाग्नेछ।

यसैगरी कम्पनीको जिएसएम, सिडिएमए र सि-फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट एक रुपैयाँ ८ पैसा लाग्नेछ। त्यस्तै, जिएसएम, सिडिएमए र सि-फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट एक रुपैयाँ ६२ पैसा लाग्छ।

साथै, कम्पनीको जिएसएम तथा सिडिएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा एसएमएस पठाउँदा प्रति एसएमएस एक रुपैयाँ १० पैसा लाग्नेछ।