
सप्तरीमा करिब करिब समाप्त भइसकेको मानिने कालाजार औलो र स्क्रब टाइफसका बिरामी फेला परेको छन् । पछिल्लो ढेड महिना यता फरकफरक पालिकामा एक–एक जनामा ती रोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
धेरै ग्रामीण क्षेत्र र विपन्नहरूको बसोबास रहेको सप्तरी जिल्लामा गर्मी मौसमअगावै कालाजार, औलो र स्क्रब टाइफसको बिरामी देखिन थालेको हो । गर्मी बढ्नासाथ लामखुट्टे, भुसुना र मुसालगायतका प्रकोप बढ्ने र त्यसले यी रोगका बिरामी बढ्न सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार केही समयदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका कञ्चनरूप नगरपालिका–११ का ४८ वर्षीय पुरुषमा कालाजार पुष्टि भएको हो । माघ ११ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै ती बिरामीमा दोस्रो पटक कालाजार पुष्टि भएको यादवले जनाए । यसअघि ०७८ भदौ ११ गते उनमा कालाजार पुष्टि भएको थियो ।