स्रोत नखुलेको रकम सहित बिहारका युवक पक्राउ

  |

सर्लाही : भारतबाट स्रोत नखुलेको नौ लाख बढी रुपैयाँसहित नेपाल प्रवेश गरेका एक युवकलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको सिरसिया ग्रामपञ्चायत बस्ने २० वर्षीय दीपककुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। बुधबार अपराह्न करिब ४ बजे भारतको सिरसियाबाट बीआर ३० एबी ८३४६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा कम्बलभित्र रातो प्लाष्टिकको झोलामा बेरिएर नेपाल ल्याउँदै गरेको रु. नौ लाख ५० हजारसहित नरासिस्वा नगरपालिका-२ स्थित सीमानाका नजिकैको कट्टी गाउँमा खटिएका नेपाल प्रहरीले शङ्काका लागि जाँच गर्दा भारतीय युवक दीपक रकमसहित पक्राउ परेका हुन्।

चौधरीलाई जिल्ला प्रहरी कार्यालयले आज साँझ आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।