जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई आफ्नै इन्चार्ज प्रहरी निरीक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय महेन्द्र नगरका इन्चार्ज प्रहरी निरीक्षक बेचन यादवले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यादवले सार्वजनिक स्थलमै यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् । जानकी मेडिकल कलेजमा सञ्चालन भइरहेको परीक्षाको सुरक्षार्थ खटिएका महिला प्रहरीलाई भीडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।
ड्युटीको क्रममा पटक पटक गलत नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका प्रहरी निरीक्षक यादवले परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् ।
यता, प्रहरी निरीक्षक यादबका अनुसार आफुले कुनै दुव्र्यवहार नगरेको जिकिर गरेका छन् ।न्युज अफ नेसन संगको कुराकानीमा इन्स्पेक्टर यादवले आफूबाट त्यस्तो काम हुनै नसक्ने जनाएका छन् ।उनले भने ´´ यो गलत कुरा हो कस्ले कसरी लेख्यो त्यसमा निर्भर पर्छ । “
अनि तपाईं माथी अनुसन्धान हुँदै छ रे नि ? भन्ने न्युज अफ नेसन को प्रश्नमा यादबले आफू यो कुरामा जानकार नभएको जनाएका छन ।
प्रहरी निरीक्षक यादवले भने ड्युटीको समयमा ननिदाउन र राम्रोसँग लुगा लगाउन मात्रै आफूले आग्रह गरेको जिकिर गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक यादव विरुद्ध महिला प्रहरीले दिएको उजुरीको छानबिन भइरहेको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।