महेन्द्रनगरका एक युवा जस्ले गरे फेसबुक सँग अन्तर्राष्ट्रिय सम्झौता

  |

नेपाली गीतका सर्जकहरूले अब फेसबुक र इन्स्टाग्रामको रिल्समा गीत बजेबापत् रोयल्टी रकम पाउने भएका छन् । संगीत रोयल्टी संकलन समाज नेपालले बिहिबार मेटासँग ‘म्युजिक पब्लिसिङ राइट्स एग्रिमेन्ट’ मा हस्ताक्षर गरेको जनाएको छ । नेपाली सर्जकले अन्तरार्ष्ट्रिय संस्थासँग पहिलो पटक रोयल्टीसम्बन्धी यस्तो सम्झौता गरेको बताएका छन् ।

संगीत रोयल्टी संकलन समाजका महासचिव बी. पाण्डेले शुक्रबार साँझ फेसबुकमा स्टाटस लेख्दै संस्थाले मेटासँग सम्झौता गरेको उल्लेख गरेका थिए । ‘रोयल्टी संकलनका लागि हस्ताक्षर गरिएको यो हाम्रो पहिलो अन्तरार्ष्ट्रिय सम्झौता हो,’ उनले लेखेका छन्, ‘यति ठूलो कदमबारे जानकारी साझा गर्न पाउँदा गर्व महसुस भएको छ ।’
फेसबुक र इन्स्टाग्राम रिल्समा रमाइला छोटा भिडियोहरू बनाएर साथीभाइसँग सेयर गर्न सकिन्छ । ती भिडियोलाई म्युजिक, अडियो, एआर इफेक्ट्स, टेक्स्ट आदिले थप सिँगार्न सकिन्छ । रिल्सको मुख्य विशेषता नै म्युजिक समावेश गर्ने भए पनि हाल हामीकहाँ संगीतको प्रतिलिपि अधिकार र पाइरेसीसम्बन्धी प्रतिबन्ध भएकाले यहाँ रिल्स कार्यान्वयनमा कठीनाइ हुने शंका गरिएको थियो ।

मेटाले सन् २०१९ देखि रिल्स फिचर सञ्चालनमा ल्याए पनि हामीकहाँ यो उपलब्ध छैन । नेपाली सर्जकसँग सम्झौता गरेको हुनाले अब भने यो उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यद्यपी, विदेशमा रहेकाले नेपाली गीतमा भिडियो बनाउन सक्नेछन् । त्यसमा बज्ने नेपाली गीतले रोयल्टी प्राप्त गर्नेछन् । तर, त्यसका लागि गीतका सर्जकले संगीत रोयल्टी संकलन समाजमा आबद्ध हुनुपर्ने भनिएको छ ।(कान्तिपुरबाट साभार)