काठमाडौंको फर्पिङस्थित जंगलमा दुई युवा-युवती मृत अवस्थामा फेला

काठमाडौंको फर्पिङस्थित जंगलमा दुई युवा-युवती मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान प्रहरीले फर्पिङको जंगलमा दुईजना मृत अवस्थामा भेटेपछि थप अनुसन्धानका लागि टोली खटाएको छ ।

अनुसन्धानमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेका छन्। घटनास्थल प्रहरीको फर्पिङस्थित चेकप्वाइन्टबाट झण्डै एक किलोमिटरमाथि थाखेलतर्फ जानेबाटोको जंगल हो। उक्त क्षेत्र दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा पर्छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार घटनास्थलमा औषधि राख्न प्रयोग गरिने जस्तो बट्टा फेला परेको तर त्यसभित्र के थियो भन्ने बारे केही नखुलेको बताए। ‘दुईजनाको शव नजिकै औषधिको जस्तो बट्टा फेला परेको छ। त्यस विषयमा हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले नै यकिन साथ मृत्युको कारण भन्न सकिन्न। घटनास्थलको स्थिति हेर्दा विष सेवन गरेर आत्महत्या गरेको पनि हुनसक्छ। हामी अनुसन्धानकै क्रममा छौं।’