धनुषामा बन्दुकधारी समुह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ पोर्ताहा स्थित चारनाथ खोलामा बन्दुधारी समुह र प्रहरी बीच दोहोरो गोली हानाहान भएको हो ।
सोमवार राति ११ः४० बजेको समयमा गणेशमान चारनाथ नगरपालिका पोर्ताहा प्रहरी चौकीबाट प्रहरी नायव निरिक्षक रामनाथ यादव नेतृत्वको गस्ति टोलीले बन्दुकधारी समुहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । चारनाथ खोलामा बन्दुकधारी समुहलाई प्रहरीले रोक्न खोज्दा समुहबाट फायर गरेपछि जवाफि कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो ।
प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी समुहका एक जनालाई बायाँ खुट्टामा गोली लागी घाईते अवस्थामा पक्राउ गरेको हो । अन्य समुहका व्यक्तिहरु भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीको गोली लागि पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका ५ बस्ने अन्दाजी ३० वर्षिय गणेशबहादुर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको गोली लागि घाईते अवस्थामा पक्राउ परेका बुढाथोकीलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भईरहेको र अवस्थामा सामान्य रहेको धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेले जानकारी दिए । पक्राउ परेको व्यक्तिको साथबाट १ थान भरुवा बन्दुक समेत बरामद गरी थप अनुसन्धान अगाडी बढाईएको जानकारी दिए ।