बिहारमा ११ जना माथी गोलि प्रहार

  |

भारतकाे बिहारस्थित बेगुसराय जिल्लामा मंगलबार एकपछि अर्काे गर्दै सडकमा भेटिएका ११ जनामाथि गाेलाबारी भएकाे छ । गाेली लागेका एक जनाकाे मृत्यु भएकाे छ भने हमलाकारी अहिलेसम्म पक्राउ परेका छैनन् ।

बिहारकाे विपक्षी पार्टीले यस्ताे किसिमकाे घटना राज्यमा पहिलाे पटक भएकाे बताएका छन् । जिल्लाका प्रहरी अधिकारीका अनुसार माेटरसाइकलमा सवार दुई जना हमलाकारीले ३० किलाेमिटर यात्राका क्रममा बाटाेमा भेटिएका सबैलाई गाेली हान्दै अगाडि बढेका थिए ।

यस क्रममा ११ जनामाथि गाेली प्रहार भएकाे र एक जनाकाे मृत्यु भएकाे उनले जानकारी दिए । ज्यान गुमाउनेमा हाजीपुर पिपरा देवस निवासी चन्दन कुमार रहेका छन् । भारतीय जनता पार्टीले याे घटनाकाे विराेधमा आज बेगुसराय बन्दकाे आह्वान गरेकाे छ ।

बेगुसरायका एसपी राजेन्द्र कुमारले सीमा सिल गरेर हमलाकारीकाे खाेजी भइरहेकाे बताएका छन् । प्रहरीले सीसीटीभी फुटेजमा माेटरसाइकलमा सवार रहेका दुई जनाले बाटाेमा भेटिएका मानिसलाई गाेली हान्दै अगाडि बढेकाे देखिएकाे जनाएकाे छ ।

उनले हमलाकारीकाे उमेर ३० वर्ष आसपास रहेकाे र उनीहरू मानसिक राेगी रहेकाे हुनसक्ने बताए । उनका अनसार हमलाकारीले मुख छाेपेका थिए । उनीहरूले सबैलाई पछाडिबाट गाेली हानेका थिए ।