संजय साह ´ट्क्ला`लाई जिल्ला अदालत धनुषाको जन्मकैदको सदर

  |

जनकपुरधाम, असोज ५ । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा पूर्व राज्यमन्त्री संजय साहलाई जिल्ला अदालत धनुषाको जन्मकैदको फैसलालाई नै उच्च अदालत जनकपुरले सदर गरेको छ ।

संचार उद्यमी सिंहानिया हत्याको मुख्य योजनाकार संजय साहलाई जन्मकैदको सजाय दिने फैसलालाई सदर गरेको हो । न्यायधिश प्रमोदकुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्ला अदालत धनुषाको फैसलालाई नै सदर गर्दै फैसला सुनाएका छन् ।

उच्च अदालत जनकपुरका राजिष्टार खडगराज अधिकारीका अनुसार उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादवले बहस गरेका थिए भने जाहेरबालाको तर्फबाट आधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्की बहस गरेका थिए ।

प्रतिवादी संजय साहको तर्फबाट बरिष्ठ आधिवक्ता सुरेन्द्र महतो, बरिष्ठ आधिवक्ता श्यामकुमार मिश्र, बरिष्ठ आधिवक्ता धर्मेन्द्र शर्मा, आधिवक्ता प्रकाश कुमार घिमिरे, ओम प्रकाश सिंघ र दिपेन्द्र सिंघसहित ६ जनाले वकालत गरेका थिए ।

संचार उद्यमी सिंघानियाको हत्या २०६६ फागुन १७ गते होलीकै दिन जनकपुरधामको शिवचोकमा गोली हानी हत्या गरिएको थियो । सिंघानिया हत्याको मुद्दामा जिल्ला अदालत धनुषाले २०७६ असार १७ गते संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो ।

साहले फैसलाप्रति असंतुष्टी जनाउँदै २०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । पूर्व राज्यमन्त्री साह अहिले नख्खु कारागारमा छन् ।