धुमधाम साथ महेन्द्रनगरमा छठ पुजा मनाइदै (छठ्को महत्व सहित)

  |

रोहित खनाल ‘सम्राट ‘

महेन्द्रनगरको औरही खोला ,दुध्मती पोखरी,सखुवा पोखरी तथा जलाद नदि लगायतका नहर र पोखरीहरुमा अस्ताउदो सूर्यलाई अर्घ दिएर छठ पर्व भक्त्तिपूर्वक मनाइदै छ ।
यता,कोरोना संक्रमण फैलिने डरले महेन्द्रनगरका  केहि स्थानीयहरूले आफ्नै घरमा पोखरी खनेर पनि छठ पर्व मनाएका छन् ।

महेन्द्रनगर स्थित कुचाइ टोलमा माटो काटेर पानी भरी बिभिन्न दलित समुदायले एक साथ बासी मनाएका छन् ।अरु बेला छुवाछूतका घट्ना देखिने गरेकोमा छठ पर्वमा कुनै छुवाछूत नहुने गरेको स्थानीय बताउछ ।

उदाउँंदो र अस्ताउदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा व्रतालु महिला पुरुषले पारिवारिक सुख,समृद्धि र रोगव्याधीबाट छठ्ठी माताले मुक्त गर्ने जन बिश्वास र आस्था रहेको छ ।

तराईमा बसोबास गर्ने मधेसी समुदाय मात्र नभई छठ पर्वलाई पहाडी मुलका हिन्दू र  केही मुस्लिम धर्मावलम्बीहरुले पनि आपसी सौहार्दता र सद्धावपूर्वक मनाउने गरेका छन्।

 

यो पर्वमा कुनै अवान्छनीय घटना हुन नदिन महेन्द्रनगरका विभिन्न घाट सुरक्षाकमी खटाइएको प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

भोलि बिहान उदौउदो सूर्यलाई अध्र्य दिएपछि
छठ पर्व समापन भएको मानिन्छ।

यस्तो छ छठको किवदन्तमा आधारित इतिहास:

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

विधि
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ ।

विसर्जन
षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्त्व आज पनि त्यत्तिकै छ ।

कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ । यो एउटा यस्तो चाड हो जसमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठीत व्यक्तीलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुई पटक चैत र कार्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधी विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहि आएको छ । छाला सम्वन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजीकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । छैठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई जस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई विना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात गर्दै सूर्यको पूजा प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।