पत्रकार अजयकुमार साहमाथि उपभोक्ता संस्थाका कोषाध्यक्ष ले गरे दुर्व्यवहार

  |

महोत्तरीको बर्दिबासमा पत्रकार अजयकुमार साहमाथि दुर्व्यवहार र आक्रमणको प्रयास भएको छ। बिहीबार बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष भोज प्रसाद फुयाल (शंकर) ले पत्रकार साहमाथि सार्वजनिक स्थलमा दुर्व्यवहार गर्दै गालीगलौज र हातपातको प्रयास गरेका हुन्।

वैशाख १० गते ‘रातोपाटी डटकम’ मा ‘बर्दिवास खानेपानी संस्थामा विवाद छताछुल्ल’ शीर्षकको समाचार प्रकाशित भएको थियो। सोही समाचारको निहुँ झिकेर कोषाध्यक्ष फुयालले सञ्जालका सदस्य समेत रहेका साहमाथि दुर्व्यवहार गरेको बर्दिबास नगर पत्रकार सञ्जालले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

करिब ३० वर्ष लामो पत्रकारिता गरेका साह ‘खबर दर्पण दैनिक’ र ‘शिरीष न्यूज डटकम’ का प्रकाशक/सम्पादक साथै उनी ‘गोरखापत्र दैनिक’ का महोत्तरी समाचारदाता र नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका सदस्य समेत हुन्।

यता,सञ्जालले कार्यक्षेत्रमा खटिएका पत्रकारमाथि यसरी जाइलाग्नुलाई ‘प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप’ ठहर गरेको छ।भने कानुनी कारबाहीको माग गरेको छ ।