धनुषामा लुटेराको आक्रमणमा परि प्रहरी असइ मनोज पोखरेल घाइते ,पाँच जना पक्राउ

  |

धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरी चौकीका असई मनोज पोखरेललाई गएराति लुटेरा समूहले आक्रमण गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति लुटेरालाई नियन्त्रण लिएपछि उनीलाई आक्रमण भएको प्रहरीले जनाएको छ।

आक्रमणबाट असई पोखरेल घाइते भएका छन्। उनको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको टाउकामा १२ वटा टाँका लागेको छ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किँदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइललगायत सामान लुटपाट गरेका थिए।

लगतै पुगेको असई पोखरेलसहितको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेपछि असई पाेखरेललाई आक्रमण भएको हो।

प्रहरीका अनुसार लुटिएका पासमान कमाएर बटेश्ववर गाउँपालिका २ भुचक्रपुरस्थित ससुराली जाँदै थिए।

महेन्द्रनगर बजारबाट अटोरिक्सामा बसेर पासवान ससुराली फर्किँदै गर्दा राम्रोचोकमा रोकेर सामान लुटपाट गरेपछि प्रहरीलाई खबर पुगेको थियो। लुटपाट गर्ने व्यक्तिलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेललाई पछाडिबाट हेल्मेट, लाठीले टाउकोमा हानेकाे प्रहरीले जनाएको छ।

लुटपाट तथा आक्रमणमा संलग्न ५ जनालाई पक्राउ गरिएकाे धनुषाका प्रहरी उपरीक्षक रजौरेले नेपालखबरलाई जानकारी दिए।

जसमध्ये मुख्य आरोपित स्थानीय रामजीवन ठाकुरका साथबाट लागुऔषध नाइट्राेभेट ट्याब्लेट र चक्कु बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।