राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको आयोजनामा “नेपालको कृषि रुपान्तरण“ नामक कार्यक्रमको एक दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।शनिबार कम्पनीका अध्यक्ष विशाल हुँमागाइको सहभागीता कोमल होटलको सभाकक्षमा सम्पन्न कार्यक्रममा कृषिमा लगानी सम्बन्धि जानकारी दिइएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य कृषि क्षेत्रको समग्र रुपान्तरण, सम्भावित लगानीका अवसरहरूको पहिचान तथा दीर्घकालीन रणनीतिक योजना निर्माण रहेको आयोजकले जनाएको छ ।
कृषिमा लगानी आकर्षक गर्ने उद्देश्यका साथ गरिएको कार्यक्रममा “कृषिमा लगानी : अबको प्राथमिकता” भन्ने नारा प्रस्तुत गरिएको थियो । सहभागी लगानीकर्ताहरूको भेलाले कृषक सशक्तिकरण, कृषि व्यवसाय विस्तार र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएको बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका अध्यक्ष विशाल हुमागाईले ढल्केवरमा कलेक्सन सेन्टर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको बताए ।कृषिका क्षेत्रमा यसले ठूलो योगदान पुर्याउने उनले बताए ।
त्यस्तै राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेड प्रादेशिक कार्यालय जनकपुरका प्रमुख रविन्द्र कुमार पजियारका अनुसार कार्यक्रममा अनुभवी कृषक, नीति निर्माता, निजी क्षेत्रका लगानीकर्ता तथा कृषि विज्ञहरूको सहभागि भएर कार्यक्रममा छलफल गरिएको थियो। उनले नवप्रवर्तन, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको बताए ।



