महेश संघर्षीको -आज चुल्हो बल्दैन!

  |

अाज चुल्हो बल्दैन
˗ महेश संघर्षी
“साहुजी मलाई आज चाँडै घर पुग्नु छ , आजको हिसाब के कति छ दिनुस् न ।”
“किन आत्तिएको धने, बरु ठेलामा एक दुई टिप सामान अझ ल्याइ देऊ अनि जाने, भोलिदेखि त बन्दै रहन्छ क्यारे !”
“मजाक नगरिदिनोस् न साहुजी अस्तिको जस्तै, पीडा धेरै हुन्छ हामीजस्तो गरिबलाई । थाहा छ तपाइँलाई ? यदि दुईचार दिन पनि काम बन्द भो भने त हाम्रो साँस नै बन्द हुन्छ ।” आफ्नो पीडा पोख्दै धने गम्भिर भयो ।
साहुजीले ठट्टा गरेजस्तो लाग्यो तर त्यो कुनै ठट्टा थिएन । कोरोना भाइरसको कारणले हाम्रो देशमा मात्र नभएर विश्वका प्रायवजसो देशमा लकडाउनको श्रीगणेश भइसकेको थियो । संसारमा हजारौंहजार मानिस कोरोनाको वाणको शिकार भएर यो संसारदेखि विदा लिइसकेका थिए । लाखौं मानवजाति यसको जालमा परेर माछा छट्पटाए झैं छट्पटाउँदै छन्् । हुने हार दैव नटार भने झैं यसको अगाडि कसैको केहि लाग्दैन । यो खतरनाक भाइरस मान्छेले जस्तै जातपात,उचनिच, धनिगरिब, सानोठूलो केहि पनि छुट्ट्याउँदैन । नेपाल सरकारले पनि आफ्नो जनताको सुरक्षाको निम्ति भोलिदेखि लकडाउनको घोषणा गरेको समाचार देशैभरि पवन झैं एकै छिनमा फैलिएको थियो ।
धने गहिरो सोँचमा परेको देखेपछि साहुजीले त्यति धेरै चिन्ता नलेऊ बरु चाँडो दुई खेपी काठ ल्याएर घर जाऊ । एक हप्ताको लकडाउन मात्रै हो पछि फेरि खुल्छ नै ।
तीनचार दिनको बाँकि हिसाब गरेर त्यसमा अझ केही थपथाप पारी साहुले धनेलाई जम्मा दुई हजार दियो । ऊ खुसी हुँदै बजार गएर बुवाको औषधी अनि घरका लागि अन्नपात लिएर राति आठ बजेतिर घर पुग्यो ।
“तारा ,ए तारा कहाँ छ्यौ ?” भारी दुरामा राख्दै पत्नीलाई बोलायो ।
“बुवाको दवाइ खोइ ? ल्याउनु भएन ?” चामलको बोरा समाउँदै ताराले सोधी ।
“इह् पैन्टको गोजीमा छ, अनि बुवालाई कस्तो छ , ठीक छ कि छैन ?”
बुवाको हाल सोध्दा तारा केही पनि बोलिन । ऊ अवाक्क भएर भुइँमा थचक्क बसी । धनेको निम्ति यो इसारा काफि थियो । मन खिन्न भयो । फिकर नगर, यो सव भगवान्को हातमा छ , हामी त केबल करतव मात्रै गर्ने हो भन्दै पत्नीलाई ढाडस दिइ तिमी खाना पकाउँदै गर भनेर धने औषधी लिएर बुवा भएको ठाउँमा गयो ।
बुवाको हातगोडा अनि टाउको छामेर हे¥यो । उसको जिउ छोइ नसक्नु तातो थियो । छिनछिनमा अलेली खोकी पनि हुन्थ्यो । बुवाबुवा भन्दै बोलायो धनेले तर होस थिएन । ऊ केबल हँहँहँ……… हँहँहँ….. हँहँहँ….गर्दै कह्रिदै थियो । उठाइपुठाइ गरेर औषधी खुवायो किन्तु निल्न नसकेर वान्ता भयो अनिखेरी पानीमा घोलेर एउटा बच्चालाई खुवाएजस्तै धनेले बुवालाई औषधी खुवाएर अलि सन्तोष महसुस गरी त्यहीँ बसिरह्यो ।
केही पछि छोरी रजनीले खाना भइसकेको कुरा सुनाउन आई । भोक लागे पनि खान मनले इच्छा गरिरहेको थिएन बुवाको गम्भिर अवस्था देखेर । तिमीहरू खाँदै गर म एकै छिनमा आउँछु भनेर छोरीलाई पठाइ दियो ।
तत्पश्चात धनले फेरि बुवाको जिउ छोयो । खलखल पसिना आएको थियो । जिउ चिसो भएको थियो । उसले विस्तारै ओढाएको गुदल्ला हटायो अनि केही खानुहुन्छ भनेर सोध्दा नाइ भनेर हातले इसारा गरेर फेरि सुत्यो । त्यसपछि धने खान गएको थियो ।
बिहान हँुदा आसपासका केहि छरछिमेकहरू धनेको घरमा जम्मा भएका थिए । उनीहरू सबै तेजहिन थिए । कसैको चेहरा रोसनी थिएन । तारा रुँदै थिई । धने गम्छाले मुख थुनेर बसेको थियो । छोराछोरी हजुरबाको शान्त अनुहारमा टुलुटुलु हेर्दै थिए । चन्द्रमा अस्ताएसँगै उसको बुवा पनि सदाको निम्ति अस्ताइसकेको थियो ।
“मैले धेरै कोसिस गरेँ तर सब बेकार भो ।” आँसु पुच्छदै छिमेकी हिरा काकालाई भनेको थियो । रातभरि ऊ सुतेको थिएन । गाउँभरिका सारा डाक्टरहरूकहाँ धाएको थियो तर कोहि पनि यो कोरोनाको कारणले जाँच गर्न मानेका थिएनन् । बाहिर लग्ने क्षमता भने उसमा थिएन ।
“डाक्टरले पनि कसरी जाँच गरोस् त यस्तो बेला । आफ्नो जान र जहान कसलाई प्यारो हुँदैन र ? ,आखिर सरकारले यि डाक्टरहरूलाई पनि केहि सुविधा दिए पो चेकजाँच गथ्र्यो नि ।” कुरैकुरामा एक जना भलादमीले भनेर अरुको चित बुझाएको थियो ।
त्यसैबखत पाँचसातवटा पुलिस धमाधम भ्यानबाट ओर्लिए अनि लासलाई पलास्टिकमा बेरेर लगे अन्तिम संस्कारको लागि । धनेबाहेक अरु कसैलाई जान अनुमति दिएन । लास गएको घण्टौंसम्म तारा रोईरही ।
करिब महिना दिन वितिसकेको थियो मान्छेहरू घरमा बन्द भएको । टोलभरि अब लकडाउन हल्का हुन्छ भनेर हल्लाखल्ला चल्यो । तारा पनि यो सुनेर खुसी भई ।
“कस्तो बेला आइसक्यो हैन तारा ? हिजोअस्तिसम्म सुगाजस्तो पन्छीलाई पिँजडाभित्र थुनेर रमाउने मानिसहरू अहिले आफू थुनिदा बल्ल पिँजडाभित्रको पीडा महसुस गर्दैछन् । बुवाले भन्दै हुनुहुन्थ्यो यस्तो कहिल्यै भएको थिएन ।”
“के अब त यो लकडाउन खुल्छ होइन त ?” भात पस्किँदै ताराले सोधी ।
“होइन, फेििर दश दिन थपिदियो क्यारे ।” पानीको लोहोटा जमिनमा राख्दै भनेको थियो धनेले ।
धनेको बोलीले ताराको छातीमा काँढाझैं चुभियो । किनभने भोलिको लागि भान्समा चामल, सागसब्जी पिठो केहि पनि शेष थिएन । त्यसो त आज पनि खाना अपुग नै थियो तर पनि ऊ साँझमा पतिलाई चिन्ता हुन्छ भनेर भनेकी थिइन ।
बिहान सात बजिसकेको थियो । कुनै कामधाम नभएकोले धने अझपर्यन्त सुतेकै थियो । तारा घरको सारा काम सकेर छोरोलाई दूधपान गराई ।
“उठ्नु न उठ्नु कति सुत्नुभाको , छोराछोरी भोकले रुन थाले । भात पकाउन चामल छैन, म के गरुँ ।” चिन्तित हुँदै ताराले भनी ।
धने बडो आसा लिएर दुईचार ठाउँमा पुग्यो परन्तु उसलाई न कहिँ पैसा मिल्यो न त काम नै । आज गरिबहरूलाई राहत गाउँमै बाँड्न आउँछ भनेर धेरैको मुखबाट सुनेपछि केहि आसा र भरोसा लिएर रित्तो हात घर फर्कियो ।
धनेधने भन्दै कसैले आफूलाई बोलाइरहेकी सुनेपछि ऊ पछि हेर्यो । हातमा टिफिन लिएर गौरी काकीलाई हतारहतारमा दोड्दै आइरहेको देखेर धने त्यहीँ उभियो ।
“ ल यो लेऊ ।”
“के छ काकी यसमा ?” धने जिल्ल पर्दै सोध्यो । जसोतसो गौरी काकीले धनेको हातमा टिफिन थमाएर घर फर्की ।
ताराले धनेलाई गौरी काकीको दुईटै छोरालाई पुलिसले समातेर लगेको कुरा सुनाई । हिजो साँझ मात्र भारतबाट रामे र कृष्णे पैदलै आएको खबर पाएपछि क्वारेनटाईनमा राख्न लगेको थियो पुलिसले । खाना पाकिसकेको थियो तर खान पनि नदिई तिनीहरूलाई लगेपछि बाँकि रहेको खाना धनेलाई पठाई दिई ।
जेभएपनि बिहानको छाँक त ट¥यो तर साँझको कुनै भरोसा थिएन । तैपनि धने राहत पाउने आसामा अलिक ढुक्क थियो ।
दिउँसो करिब तीन बजेको थियो । रजनी बाहिर आफ्नै दुरामा खैल्दै थिई । राहत बोकेर एउटा गाडी उसकै छिमेकीको घर अगाडी घचक्क रोकियो । एकैछिनमा राहत लिनेहरू जम्मा भए । मेयर साब आफैंले एकेक गरी नाम बोलाउँदै राहत बाँड्दै थिए ।
बाहिर होहल्ला सुनेर ताराले धनेलाई उठाउँदै भनी “ उठ्नुस् न, उह् हेर्नु बाहिर, राहत पो दिँदै छ क्यारे , जानु न ।” राहतको नाम कानमा गुञ्जिने बित्तिकै धने हतपत उठेर बाहिर गएर आफ्नो नाम आउने प्रतिक्षामा उभियो । केहि छिनमा अरुलाई पनि आफ्नो नाम आयो कि आएन भनेर सोध्यो किन्तु उसको नाम त्यति बेलासम्म आएको थिएन । नाम लिस्ट समाप्त पनि भयो तर धनेको नाम त्यो लिस्टमा अँटेको थिएन । ऊ ज्यादै निरास भयो । छोरी रजनी अनि पत्नी तारा एक टकले तिनीहरूभन्दा धनीधनीले राहत लिएर हाँस्दै लगिरहेको दृश्य हेरिरहे ।
सूर्य अस्ताउन लागेको थियो । धनेको मन सा¥है दुखेको थियो । राहतको गाडी अन्यत्र जान लागेको देखेर उसको आँखा रसाएर आयो । ऊ भक्कानिएर गम्छाले आँशु पुच्छियो । आखिरमा आफैं मेयर साबको अघि हात जोडेर विन्ती गर्दै भन्यो “ मलाई पनि दिनुस् न हजुर राहत । हामी पनि गरिब छौं हजुर ।” काग कराउँदैछ पिना सुक्दैछ भनेझैं मेयरसाबले त्यसलाई पञ्छिएर अगाडि बढे । कसैकसैले धनेलाई पनि राहत दिनुपर्छ भनेर होहल्ला गर्न थाले भने कतिले यो हाम्रो पार्टीको होइन, यसलाई राहत दिनु पर्दैन भनेर पनि सावधान हुन पनि कराइरहे । त्यसै भिडबाट एकजना मोटो मान्छे आएर धनेलाई धकेल्दै भन्यो “ तैंले जल्लाई भोट दिइस् त्यसैसँग गएर राहत माग् , हामी दिनेबाला छैनौं ।”
सरकारको अगाडि कसको के लाग्छ र ? त्यसमा पनि धनेजस्ता गरिब जनताको औकात पनि के नै रहन्छ र तिनीहरूसित लड्ने । गाडी भिडलाई चिर्दै अनि पिपि गर्दै हुर्रहुर्र गर्दै अघि बढ्यो ।
अँध्यारो भएकोले एकै छिनमा सबै आआफ्ना घर गए । धनेको मन शुन्य भयो । दुराबाट हेदैृ गरेकी तारालाई यो तस्विरले अर्धबेहोस बनाइ दियो । धने पनि चुपचाप घरभित्र ओसारामा आएर थचक्क बस्यो । पछिपछि तारा पनि त्यहिँ बसी । वातावरण एकदम शान्त थियो । छोरो आँगनमा रुँदै कराउँदै रेलझैं गुड्दै थियो ।
“आमा , सा¥है भोक लाग्यो ,दिनमा पनि थोरै खा थिएँ , भात पकाउनु न ।”
“ छोरी, आज चुल्हो बल्दैन ।”